मध्य भोटेकोसीको आईपीओ रोक्न माग, यस्तो छ कारण

काठमाडौं -मध्य भोटेकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि आह्वान गरेको प्राथमिक शेयर (आइपीओ) रोक्नका लागि आवेदन परेको छ । निषेधाज्ञाको बेवास्ता गर्दै स्थानीय र आयोजना प्रभावितका लागि साधारण सेयर आईपीओ निष्कासन गरे पछि आईपीओ भर्न आउनेको भिडले कोरोना सर्न सक्ने भन्दै आईपीओ रोक्न उजुरी परेको हो ।

मध्य भोटेकोशी जलविद्युत आयोजना र ग्लोबल आईएमई क्यपिटल लिमिटेडले यो जोखिमलाई पूर्णरूपमा बेवास्ता गरेको भन्दै बाह्रबिसे नगरपालिकाले रोक्न अनुरोध गर्दै आयोजना कार्यालयमा पत्राचार गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय र आयोजना प्रभावित बासिन्दाका लागि भन्दै ६० लाख कित्ता साधारण सेयर जारी गरेको छ । मध्यभोटेकोशी आयोजना प्रभावितका सिन्धुपाल्चोक बासिन्दाका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक बासिन्दाका लागि निष्कासन गरिएको छ । १०० रूपैयाँप्रति कित्ताका दरले कम्तीमा ५० कित्ता र बढीमा ४०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रभावित स्थानहरूमा भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स), बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक घुम्थाङ्क र मानेश्वरा गा.वि.स ) रहेका छन् ।

सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले गरेको निर्णयनुसार सेयर कारोबारलाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा नराखेकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर निष्कासन मिति स्थगित गनुपर्ने माग छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ । मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी सिन्धुपाल्चोक धमाधम सेयर बिक्री भइरहेकाले फारम अपुग भएको बताउँछन् । सेयर भर्ने भीडका कारण सिन्धुपाल्चोकमा कोभिडको संक्रमित बढ्न सक्ने जोखिम देखिएको छ । बिक्री प्रवन्धकको जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले भने सिन्धुपाल्चोकका ३७ स्थानमा र काठमाडौं उपत्यकाभित्र ७ अन्य बिक्री प्रवन्धकलाई यसको बिक्री अधिकार दिएको छ ।

प्रतिक्रिया