काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै देशका सबै २० वाणिज्य बैंकको नाफा घटेको देखिएको छ। तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले कुल १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जुन गत वर्षको यही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १६ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका थिए।
सिटिजन्स बैंक बाहेक सबै बैंक नाफामै रहे पनि गत वर्षको तुलनामा नाफा बढाउन सफल बैंकको संख्या मात्र पाँच रहेको छ। ती बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनआइसी एशिया बैंक र एभरेष्ट बैंक रहेका छन्।
यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २९५ प्रतिशतले बढ्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। ग्लोबल आइएमई बैंकको नाफा २२ प्रतिशतले, सानिमा बैंकको १३ प्रतिशतले, एनआइसी एशिया बैंकको १० प्रतिशतले र एभरेष्ट बैंकको ४.५७ प्रतिशतले वृद्धि भएको छ।
त्यसैबीच, सिटिजन्स बैंक, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भने ठूलो गिरावट आएको छ। सिटिजन्स बैंकको व्याज आम्दानी ११ प्रतिशतले बढे पनि प्रोभिजन ९१ प्रतिशतले बढ्न पुगेकाले बैंकको खुद नाफा २११ प्रतिशतले घटेको छ।
सरकार र राष्ट्र बैंकले अर्थतन्त्र स्थिर रहेको दाबी गरे पनि वाणिज्य बैंकहरूको वित्तीय विवरणले भने देशको आर्थिक स्वास्थ्य कमजोर बन्दै गएको संकेत दिएको छ। बैंकहरूको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा दुवै बढ्दै गएका छन्। खराब कर्जा बढेसँगै बैंकहरूले व्याज आम्दानीमा वृद्धि गरे पनि प्रोभिजन बढाउँदा नाफामा दबाब परेको देखिन्छ।