रास्वपाको नेतृत्वमा परिवर्तन: कार्यवाहक सभापतिमा अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद (डिपी) अर्याल नियुक्त भएका छन्। सोमबार बसेको रास्वपाको सचिवालय बैठकले सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पार्टी विधानअनुसार सभापतिले तोकेको उपसभापतिले कार्यवाहक सभापतिको भूमिका निर्वाह गर्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा ज्येष्ठ उपसभापति स्वर्णिम वाग्ले भए पनि सभापति लामिछानेको सिफारिसमा अर्याललाई जिम्मेवारी दिइएको हो।

रास्वपाका सभापति लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी लगायतका चारवटा कसुरमा मुद्दा दर्ता भएपछि उनी प्रहरी हिरासतमा छन्। लामिछाने गत कात्तिक २ गतेदेखि हिरासतमा रहेको र यो अवधिमा पार्टीको कार्यवाहक नेतृत्व तोकिएको थिएन।

लामिछाने हिरासतमा रहेका कारण रास्वपाको केन्द्रीय समिति बैठकहरू उपसभापति अर्यालकै अध्यक्षतामा सञ्चालन हुँदै आएका थिए। अब भने सचिवालय बैठकको निर्णयपछि अर्यालले कार्यवाहक सभापतिको औपचारिक भूमिका निर्वाह गर्नेछन्।

प्रतिक्रिया