गुल्मीको धुर्कोटमा बोलेरो ठोक्किँदा चालक घाइते

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ नादी नजिक बोलेरो गाडी दुर्घटना भएको छ। वडा नम्बर ६ रजस्थलबाट वडा नम्बर २ पिपलधारा जाँदै गरेको बोलेरो (लु ३ च ७१५३) गाडी ब्रेक फेल भई सडक किनारको ढिस्कोमा ठोक्किँदा दुर्घटना भएको हो।

 

दुर्घटनामा धुर्कोट गाउँपालिका–६ कमरचाल्नेका २९ वर्षीय चालक कमल जि.सी. घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको पुष्टि गर्नुभयो।

 

घाइते जि.सी.लाई बाहिरी चोटपटक नदेखिए पनि भित्री चोट लागेको आशंकामा सुरुवाती उपचारका लागि धुर्कोट आधारभूत अस्पताल काफलपानी लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप परीक्षणका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र पछि सिटी स्क्यानका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास–पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनाको समयमा गाडीमा चालक बाहेक अन्य कोही सवार थिएनन्। दुर्घटनाबाट बोलेरोको बाँया साइडका दुबै टायर गार्ड भाँचिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय