बुधबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा सुरु हुँदैछ, जसमा दुई लाख ५२ हजार विद्यार्थी सहभागी हुनेछन्। यसपटक परीक्षा बोर्डले एसईईमा ‘ननग्रेड’ (एनजी) पाएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदैछ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५५० परीक्षा केन्द्र तोकिएको छ। उनले भने, 'परीक्षाको तयारी सबै भइसक्यो। दुई लाख ५२ हजार विद्यार्थीको एनजी आएको थियो, तर केहीले फारम भर्न छुटाएको भए यो संख्यामा केही फरक पर्न सक्छ। सबै विषयका परीक्षाबाट सात लाख ५२ हजार उत्तरपुस्तिका संकलन गरेर जाँच गर्छौँ।'
एसईई निर्देशिका, २०७९ अनुसार दुई विषयमा एनजी पाएका विद्यार्थीलाई मात्र पूरक परीक्षामा सहभागी गराइन्थ्यो। तर, तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एनजी पाएका सबै विषयमा परीक्षा दिन पाउने नियम जारी गरेपछि सबै विद्यार्थी पूरक परीक्षामा सहभागी हुन लागेका हुन्।
बोर्डले २३ देखि ३१ साउनसम्मको पूरक परीक्षाको मिति तय गर्दै तयारी परीक्षा मर्यादित बनाउन केन्द्रहरूलाई निर्देशन दिएको छ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुनेछ, जसमा एक लाख एक हजार ३८३ विद्यार्थी सहभागी हुनेछन्।
यसपटकको एसईईमा सबैभन्दा बढी एनजी गणितमा आएको छ, जसमा एक लाख ७७ हजार ९८५ जनाले परीक्षा दिनेछन्। विज्ञान विषयमा एक लाख २६ हजार विद्यार्थीले एनजी ल्याएका थिए। परीक्षाको नतिजा १५–२० दिनमा प्रकाशन गरिने बोर्डले जनाएको छ।