मानवता र सामाजिक सेवामा समर्पित होममान,जन्म दिनमा गरे आर्थिक सहयोग

काठमाण्डौ । जन्मदिन मनाउने सबैको आ–आफ्नै शैली हुन्छ। कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्मदिन मनाउँछन् भने, कोही बाहिर घुम्न जाने, रमाइलो गर्ने जस्ता विभिन्न तरिकाले यो विशेष दिनलाई मनाउँछन्। तर बागलुङ गैरागाउँमा जन्मिएर हाल काठमाडौंको सामाखुसी चोकमा लामो समयदेखि व्यवसाय गर्दै आएका होममान सेन्चुरीले भने आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन्।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ सेन्चुरीले बागलुङ गैरागाउँ बिश्वकर्मा समाजलाई आर्थिक सहयोग गरेका छन्। उनले जन्मदिनमा अनावश्यक खर्च गर्नुको सट्टा बेसहारा, गरिबीका कारण पढ्न, लेख्न, उपचार गर्न बञ्चित भएका निमुखा, असहाय बालबालिकालाई सहयोग गर्ने निर्णय गरेका छन्। सेन्चुरीले विगतमा काठमाडौंमा संघर्ष गर्दा भोग्नुपरेका पिडाहरू सम्झँदै, त्यस्तो दुख–कष्ट अरूले भोग्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए।

पछिल्लो समय जन्मदिन, विवाह, ब्रतबन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढ्दै गएको देखिन्छ। यस्ता विकृतिहरूको अन्त्य गर्नसमेत उनले गरेको कार्य उदाहरणीय बनेको छ। सेन्चुरीले आफ्नो खर्च जोगाएर रु १,२२,२०० (एक लाख बाइस हजार दुई सय) समाजलाई हस्तान्तरण गरेका छन्। उनी सोही संस्थाका पूर्व कोषाध्यक्ष पनि हुन्। गैरागाउँ बिश्वकर्मा समाजले आयोजना गरेको एक कार्यक्रममा उनलाई सम्मान गरियो। सम्मान प्राप्त गरेपछि सेन्चुरीले आफूलाई अत्यन्त खुशी लागेको बताए।

समाजका अध्यक्ष नारायण बिश्वकर्माले जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै, यो सहयोग सम्बन्धित स्थानमा सही रूपमा पुग्ने प्रतिज्ञा गरे। साथै, उनले सबैलाई आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगरी, सक्दो सामाजिक र रचनात्मक कार्यमा सहयोग गर्न आग्रह गरे। कार्यक्रममा महासचिव राम सेन्चुरीले सञ्चालन गरेका थिए भने, सहजीकरण उपाध्यक्ष सरोज बिश्वकर्मा र सचिव भुपेन बिश्वकर्माले गरेका थिए। संस्थाका सबै पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

प्रतिक्रिया