काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। सोमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर वितरण गरिसकिएको छ।
दोस्रो चरणअन्तर्गत कम्पनीले ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखेको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर बिक्री गरिनेछ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा चैत २५ गतेसम्म आवेदन दिन पाइनेछ भने माग पर्याप्त नभएमा बैशाख ६ गतेसम्म अवधि लम्बिन सक्नेछ।
कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै २९ वर्ष ५ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष र छुट दरमा १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।