पाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा गम्भीर घाइते भएका तीन कामदारको गएराति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीका अनुसार बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको निधन भएको हो।
उनीहरूलाई दुर्घटनापछि प्राथमिक उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो भने थप उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रिफर गरिएको थियो। सोही अस्पतालमा चिकित्सकले गएराति उनीहरूलाई मृत घोषणा गरेका थिए। तीनै जनाको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
मेची राजमार्गको हेवा खोलामा सडक विभागअन्तर्गत इलामस्थित सडक डिभिजन कार्यालयले ७० मिटर लामो मोडुलार बेलिब्रिज निर्माण गरिरहेको थियो। फिदिम नगरपालिका तर्फको भागमा जडान गरिएको बेलिब्रिज स्काभेटरको सहायताले हिलिहाङ गाउँपालिका तर्फ टेकाइएको थियो। तर, फिदिमतर्फको भागमा अत्यधिक भार परेपछि बेलिब्रिज अचानक भाँचिएको प्रत्यक्षदर्शीहरू बताउँछन्। भाँचिएको बेलिब्रिजसँगै जडान कार्यमा खटिएका छ जना कामदार खोलामा खसेर घाइते भएका थिए।
यसअघि २०८० सालको असार २ गते आएको बाढीले सोही स्थानमा रहेको ४५ मिटर लामो पक्की पुल बगाएपछि साउनमा ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो। तर, त्यो बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीले बगाएपछि करिब ९० मिटर तल नयाँ बेलिब्रिज निर्माण कार्य अघि बढाइएको थियो। कार्य सम्पन्न हुने बेलामा पुनः दुर्घटना भएको हो।
भारत सरकारको अनुदानमा प्राप्त सो बेलिब्रिजको निर्माण तथा जडान कार्य सुपर सौगात लाइट बिल्डर्स जेभीले तीन करोड ४९ लाख रुपैयाँको लागतमा गरिरहेको थियो।