काठमाडाैं - कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले अब राष्ट्र बैंकको अनुमति नलिईकनै बैंक खाता रोक्का वा फुकुवा गर्न सक्ने नयाँ व्यवस्था लागू भएको छ। बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा असोज २९ मा गरिएको पहिलो संशोधनसँगै यो सम्भव भएको हो। विनियमावली गत असोज १ गतेदेखि लागू भएको थियो।
यसअघि कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले कुनै व्यक्ति, कम्पनी, फर्म वा संस्थाको बैंक खाता रोक्का वा फुकुवा गर्न राष्ट्र बैंकको अनुमति आवश्यक थियो। तर, संशोधित विनियमावलीमा सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गर्दै अख्तियारप्राप्त निकायले इजाजतपत्र प्राप्त संस्थामा गरेको पत्राचारको आधारमा राष्ट्र बैंकको अनुमति बिना नै खाता रोक्का वा फुकुवा गर्न सकिने प्रावधान गरिएको छ। यद्यपि, त्यस्तो कार्य सम्पन्न भएपश्चात्, इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था कायम छ। खाता फुकुवा गर्न अदालतको आदेश भएमा पनि राष्ट्र बैंकको निर्देशन आवश्यक नपर्ने संशोधनमा उल्लेख छ।
त्यस्तै, भूलवश वा कुनै कसुर गरी कुनै व्यक्तिको खातामा रकम जम्मा भएमा इजाजतपत्र प्राप्त संस्थाले अल्पकालीन अवधिका लागि यस्तो खाता रोक्का गर्न सक्ने प्रावधान संशोधित विनियमावलीमा समावेश गरिएको छ। तर, ४८ घण्टाभन्दा बढी समयका लागि रोक्का गर्न राष्ट्र बैंकको पुनः अनुमोदन आवश्यक हुनेछ।
राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाको व्यवस्थालाई थप स्पष्ट र पारदर्शी बनाउने उद्देश्यले असोज १ गतेदेखि नयाँ विनियमावली लागू गरेको थियो। गत जेठमा मस्यौदा सार्वजनिक गरी सुझाव संकलन गरेपछि, भदौ १३ मा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको यो विनियमावली एक महिनाभित्र नै संशोधित गरिएकोहो।