मानुषी लघुवित्तको शेयर दोस्रो बजारमा आउँदै, कतिमा होला कारोबार ?


काठमाडौं–सर्वसाधारणका लागि आईपीओ जारी गरेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बजारमा शेयर कारोबार गर्ने तयारी गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भए पछि कतिमा कारोबार हुन्छ आम लगानीकर्ताले चासो राखेका छन् ।


प्रतिकित्ता रु १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने अनुमान गरिएको छ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ । मानुषी लघुवित्तको आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ ।  


कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको छ । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ वितरण गरेको हो । कुल कित्तामध्य ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो । आइपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।


गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले रू. १ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म रू. ४ लाख ७९ हजार रहेको थियो । गत वर्ष प्राभिजन कम गर्दा कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष रू. ४ करोड ५१ लाखभन्दा बढी प्रोभिजन छुट्याएको कम्पनीले गत वर्ष रू. ९१ लाखभन्दा बढी मात्र प्रोभिजन छुट्याएको हो । गत चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ३ करोड ४१ लाखभन्दा बढी छ ।
 

प्रतिक्रिया