काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेबाट परीक्षा सुरु हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा सञ्चालन हुनेछ।
यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्, जुन गत वर्षको तुलनामा ४९ हजार २८६ ले बढी हो। गत वर्ष चार लाख ६४ हजार ७८५ विद्यार्थीले परीक्षा दिएका थिए। परीक्षा केन्द्रमा १५० परीक्षार्थीसम्मको हकमा एकजना सहायक केन्द्राध्यक्ष र प्रत्येक २० विद्यार्थी बराबर एकजना निरीक्षक खटाइने व्यवस्था गरिएको छ।
साथै, परीक्षार्थी संख्या ७५ भन्दा कम भएका केन्द्रहरूमा सहायक केन्द्राध्यक्ष नराखिने निर्णय गरिएको छ। आजदेखि सुरु हुने एसइई चैत १९ गतेसम्म सञ्चालन हुनेछ भने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।