• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मेलम्चीको पानी काठमाण्डौ आएसँगै आईपीओ निष्कासन गर्ने तयारीमा केयुकेएल

काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले प्राथमिक शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्ने घोषणा गरे ।

काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने उनले बताए । गएका तीन आर्थिक वर्षको लेखा परीक्षण गर्दै गरेको कम्पनी लगातार नाफामा देखिए अर्को आर्थिक वर्षमा नै सेयर जारी गर्न पाउने उनको दाबी छ । काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै आफ्नो वित्तीय अवस्था सुध्रिने दाबी केयूकेएलको छ ।कम्पनीको प्रबन्धपत्र अनुसार १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर हिस्सा छ ।

नेपाल चेम्बर अफ कमर्ससहित ४ वटा निजी क्षेत्रका संस्थाहरूको १२ प्रतिशत सेयर हिस्सा छ । केयूकेएलका कर्मचरीको ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर हिस्सा छुट्याइएको छ । बाँकी १५ प्रतिशत सेयर भने सर्वसाधारणलाई दिने प्रबन्धपत्रमा व्यवस्था छ ।

केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्ने गर्दछ । तर, ८० करोड मात्रै शुल्क नियमित उठ्ने गरेको छ । १० हजार लिटरसम्म पानी उपयोग गर्दा १५० रुपैयाँ मात्रै शुल्क लिइरहेका कारण मेलम्चीको पानी आएपछि शुल्क परिवर्तन नगर्ने हो भने सञ्चालन खर्च उठाएर नाफामा लैजान नसकिने शाक्यको भनाइ छ ।
मेलम्चीबाट दैनिक आउने थप १७ करोड लिटर पानी वितरणको उचित व्यवस्थापन गर्दै कम्पनीलाई नाफासहित थप पारदर्शी र उत्तरदायी बनाउने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया