काठमाडौं । मुलुकको अर्थतन्त्रले सुस्त गतिमै भए पनि सुधारको संकेत देखाउन थालेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ, जुन दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
आर्थिक वृद्धिसँगै मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार पनि विस्तार भएको छ। दोस्रो त्रैमाससम्म ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेको अर्थतन्त्र तेस्रो त्रैमाससम्म आइपुग्दा ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा अर्थतन्त्रमा करिब ३८ अर्ब रुपैयाँ थपिएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक प्रक्षेपणमा उल्लेख छ।
तेस्रो त्रैमासमा जलविद्युत्, व्यापार तथा वित्तीय क्षेत्रको सकारात्मक प्रदर्शनले अर्थतन्त्रलाई गति दिएको छ। बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, कर्जा प्रवाहमा सुधार, निर्जीवन बीमाको प्रिमियम संकलन तथा व्यापारिक गतिविधिमा देखिएको विस्तारले समग्र आर्थिक गतिविधि चलायमान बनेको हो।
कार्यालयले अध्ययन गरेका १८ प्रमुख आर्थिक क्षेत्रमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ। सबैभन्दा उल्लेखनीय रूपमा विद्युत् तथा ग्यास क्षेत्रमा २४.८८ प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी बैंक तथा बीमा क्षेत्रमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतको विस्तार भएको छ।
सकारात्मक संकेत देखिए पनि कृषि र निर्माण क्षेत्र कमजोर रहँदा समग्र आर्थिक वृद्धिले अपेक्षित गति लिन सकेको छैन। बजारमा निर्माण सामग्रीको आयात घट्नु र धान उत्पादनमा आएको कमीले यी क्षेत्र प्रभावित भएका हुन्।
मुलुकको जीडीपीमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित भएको छ। दोस्रो त्रैमासको तुलनामा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ०.०४ प्रतिशतले ऋणात्मक भएको तथ्याङ्कले देखाएको छ।
तेस्रो त्रैमासमा केही सेवा तथा उत्पादनमूलक क्षेत्र भने अझै दबाबमा देखिएका छन्। आवास तथा भोजन सेवा (होटल तथा रेस्टुरेन्ट) क्षेत्रमा २.३० प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ०.८३ प्रतिशत तथा केही वित्तीय गतिविधिमा १.०७ प्रतिशतको संकुचन देखिएको छ।
यद्यपि सार्वजनिक प्रशासन, रक्षा तथा केही उत्पादनमूलक क्षेत्रबाहेक अधिकांश आर्थिक गतिविधिमा सुधार देखिएकाले समग्र अर्थतन्त्र पुनरुत्थानको लयमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको निष्कर्ष छ।