काठमाडौं । नेपाली कांग्रेस पार्टी औपचारिक विभाजनको चरणतर्फ अघि बढेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेसँगै कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा चर्किएको हो । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशन बोलाउनु महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको उल्लेख गरिएको छ । विधानअनुसार समयमै विशेष महाधिवेशन हुनुपर्ने अवस्था आएको भन्दै त्यसलाई रोक्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत हुने उनीहरूको दाबी छ । तय मितिमा विशेष महाधिवेशन गर्नु कानुनी र राजनीतिक दुवै हिसाबले अपरिहार्य र बाध्यकारी बनेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले कांग्रेस विधानका सम्बन्धित धाराहरूको पालना गर्दै पुस २७ र २८ गते भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका छन् । यता संस्थापन पक्षले भने उक्त विशेष महाधिवेशनलाई मान्यता नदिने संकेत गर्दै पार्टी पंक्तिलाई सहभागी नहुन निर्देशन दिएको छ । यसले कांग्रेस पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको राजनीतिक विश्लेषण हुन थालेको छ ।