नेप्से २८ सय ७९ विन्दुमा झर्‍यो, १५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ७१.०५ अंकले घट्दै २.४० प्रतिशतले झरेर २ हजार ८७९ दशमलव ११ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार १४.२१ अंकले बढेर २ हजार ९५० दशमलव १६ विन्दुमा पुगेको बजार एकैदिन उल्लेख्य रूपमा ओरालो लागेको हो।

आज कारोबारमा सूचीकृत सबै समूहका उपसूचकहरू घटेका छन्। वाणिज्य बैंक समूह २.८७ प्रतिशतले घट्दा विकास बैंक २.८९, फाइनान्स ३.३८, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, म्युचुअल फन्ड ०.२८, निर्जीवन बीमा २.२३, अन्य २.५२ र व्यापार समूह ३.०१ प्रतिशतले घटेका छन्।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर खरिद–बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज सीमित कम्पनीका सेयर मूल्य मात्र बढेका छन्। १० कम्पनीको मूल्य वृद्धि हुँदा ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर र रिज लाइनको सेयर मूल्य १० प्रतिशतले बढ्दा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९.९९ प्रतिशतले उकालो लागेको छ। साथै भुजुङ हाइड्रोपावर ९.९८ र होटल फरेस्ट इन ९.९७ प्रतिशतले वृद्धि भएका छन्।

प्रतिक्रिया