विगतका कमजोरी सुधार्ने सङ्कल्पसहित मधेश आएका छौँ: सभापति गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा भएका कमजोरी र गल्तीहरू सच्याउने स्पष्ट सङ्कल्पसहित आफू मधेश आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशलाई नेपाली कांग्रेसको जन्मभूमि भएको उल्लेख गर्दै मधेशसँग कांग्रेसको ऐतिहासिक, भावनात्मक र राजनीतिक सम्बन्ध रहेको जिकिर गरे।

सभापति थापाले निर्वाचनपछि प्राप्त हुने पाँच वर्षको समय नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै अब यो समय खेर फाल्न नसकिने बताए। उनका अनुसार यो अवधि देशको आर्थिक प्रगति गर्ने, किसानको जीवनस्तर बदल्ने, बेरोजगार युवालाई रोजगारी दिने, विद्यालय र स्वास्थ्य चौकीको अवस्था सुधार्ने निर्णायक समय हुनुपर्छ। उनले कांग्रेसले यही पाँच वर्षको समयलाई सदुपयोग गर्ने प्रतिबद्धता लिएको र त्यसका लागि जनताको बलियो समर्थन आवश्यक रहेको बताए।

उनले कांग्रेसलाई आवश्यक सबैभन्दा ठूलो शक्ति मधेशबाट नै प्राप्त गर्न चाहेको उल्लेख गर्दै मधेश कांग्रेसको जन्मभूमि भएको दाबी गरे। कांग्रेसलाई स्थापना गर्ने, हुर्काउने, जोगाउने र बलियो बनाउने काम यही भूमिले गरेको भन्दै उनले मधेशकै कारण कांग्रेस आजसम्म टिक्न सफल भएको बताए। मधेश कांग्रेसको जननी भएको र आफूहरू त्यसका जेठा सन्तान भएको भावनात्मक अभिव्यक्ति पनि उनले दिए।

सभापति थापाले कांग्रेसले विगतमा केही गल्ती र कमजोरी गरेको स्वीकार गर्दै ती सुधार्ने सङ्कल्पसहित मधेश आएको बताए। मधेशले सधैँ कांग्रेसलाई न्याय गरे पनि पछिल्ला वर्षहरूमा कांग्रेसबाट मधेशप्रति गर्नुपर्ने न्यायमा केही चुक भएको उनको स्वीकारोक्ति थियो। मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका विषयमा अन्य नयाँ तथा मधेश केन्द्रित दलहरू उदय हुनुका पछाडि पनि यही कमजोरी रहेको संकेत उनले गरे, यद्यपि उनले कुनै दलप्रति प्रत्यक्ष आरोप नलगाउने स्पष्ट पारे।

मधेशलाई कांग्रेसको आमा सरह सम्बोधन गर्दै सभापति थापाले यसको सेवा गर्नु कांग्रेसको दायित्व भएको बताए। मधेशका माग, अधिकार र अपेक्षाका विषयमा कांग्रेसले लिनुपर्ने जिम्मेवारी पूर्ण रूपमा बहन गर्न नसकेको स्वीकार गर्दै उनले यही कमजोरी सच्याउन आफूलाई मधेशबाटै उम्मेदवारका रूपमा अघि सारेको बताए। उनका अनुसार यसपटक कांग्रेसले मधेशको जिम्मा पूर्ण रूपमा लिने निर्णय गरेको छ।

सभापति थापाले मधेशका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै सर्लाहीका चारै निर्वाचन क्षेत्र मात्र होइन, मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई साथ, समर्थन र सहयोग आवश्यक रहेको बताए। मधेशबाट प्राप्त समर्थनका आधारमा कांग्रेसले आगामी पाँच वर्ष देशभर र विशेष गरी मधेशको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्ने उनको भनाइ थियो।

अन्त्यमा उनले यो सन्देश घरघरमा पुर्‍याउन कार्यकर्तालाई आग्रह गर्दै मधेश र कांग्रेसबीचको सम्बन्धलाई पुनः मजबुत बनाउने सङ्कल्पसहित चुनावी मैदानमा होमिएको स्पष्ट पारे।

प्रतिक्रिया