काठमाडौं– एक जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । स्थानीयका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि २९ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा सोमबार स्थानीयका लागि आह्वान गरेको आईपीओ बाँडफाँड गरेको सिंगटीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।
कुल ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता वितरण गरेकाले अब बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी छ । आईपीओ निष्कासनको छिट्टै मिति तय हुने बताइएको छ ।
सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर सोमबार मात्र बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड गरिएको हो ।
आईपीओ बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ । ५०० कित्तादेखि २ लाख कित्तासम्म माग गर्ने ५२३ आवेदक मध्येबाट गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । यसअनुसार सबैभन्दा धेरै शेयर पाउने २९९ जनाले ५०० कित्ता शेयर हात पारेका छन् ।
गोलाप्रथाबाट बाँडफाँडमा नपरेका ५०० कित्ताभन्दा धेरै माग गरेका २२४ जनाले पनि ४९० कित्ताका दरले नै शेयर हात पारेका छन् ।
यो आईपीओ पछि कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत हिस्सा रहनेछ । जसअनुसार संस्थापक समूहको कुल सेयर १ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।