स्थानीय तह उपनिर्वाचन: आचारसंहिता आजदेखि लागू

काठमाडौँ- आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ। निर्वाचन सम्पन्न नहुन्जेल सम्बन्धित जिल्लाका सार्वजनिक पदधारण गरेका व्यक्तिहरू, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, सञ्चारमाध्यमका कर्मचारी, शिक्षक तथा विभिन्न निकायका प्रतिनिधिहरू आचारसंहिताको पालना गर्नुपर्नेछ।

निर्वाचन आयोगले आचारसंहिताको उल्लङ्घन रोक्न राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षण संस्था, मतदाता शिक्षा सञ्चालन गर्ने निकायलगायत सबै पक्षलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ।

आचारसंहिता लागू भएका जिल्लाबाहिर आयोगको पूर्वस्वीकृति लिएर मात्रै आचारसंहिताले निषेध गरेका कार्य गर्न सकिने व्यवस्था गरिएको छ।

आइतबार, बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता हुनेछ। उपनिर्वाचन अन्तर्गत ४४ रिक्त पदमा चुनाव हुँदैछ, जसमा दुई जिल्ला समन्वय समिति प्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, तथा ३४ वडाध्यक्ष समावेश छन्।

प्रतिक्रिया