चार महिनामा सवा तीन खर्ब मात्र राजस्व संकलन


काठमाडौं– चालु आर्थिक वर्ष २०८२÷०८३ को कार्तिकसम्मको राजस्व संकलन लक्ष्यभन्दा उल्लेखनीय रूपमा कम रहेको सार्वजनिक तथ्यांकले देखाएको छ। राजस्व व्यवस्थापन महाशाखाका अनुसार यस वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब तोकिएको छ । कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड पुग्नुपर्ने लक्ष्यका जम्मा ३ खर्ब २९ अर्ब ५१ करोड मात्रै संकलन भएको छ । प्राप्ति दर ७७.४९ प्रतिशतमा सीमित भएको छ।


कात्तिक महिनाको मात्र लक्ष्य १ खर्ब ३ अर्ब ७० करोड तोकिएको थियो, तर वास्तविक संकलन ७८ अर्ब ३३ करोडमा झरेको महाशाखाले जनाएको छ, जसअनुसार महिनाको प्राप्ति प्रतिशत ७५.४९ प्रतिशतमा रोकिएको छ। कार्तिक ३० गतेको दैनिक आधारको संकलन ३ अर्ब ६८ करोड मात्र रहेको तथ्यांक सार्वजनिक गरिएको छ। यो स्थिति गत वर्षभन्दा पनि कमजोर देखिएको छ।


आर्थिक वर्ष २०८१÷८२ मा कात्तिकसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड थियो र कार्तिक ३० गतेसम्म ३ खर्ब २९ अर्ब २ करोड संकलन भएको थियो, साथै गत वर्ष कार्तिक महिनामा मात्र ७६ अर्ब राजस्व उठेको थियो। यस वर्ष राजस्व संकलन कमजोर हुनुमा बाह्य कारणको प्रभाव पनि देखिएको छ। हालैको जेनजी आन्दोलनका कारण बजार बन्द, व्यापारिक आपूर्ति अवरुद्ध र आर्थिक गतिविधिमा आएको अस्थिरताले कर संकलनमा प्रत्यक्ष असर पारेको महाशाखाले जनाएको छ, जसले कार्तिक महिनाको राजस्व प्राप्ति थप दबाबमा परेको छ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय