बुद्धभूमि हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


काठमाण्डौ– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । यो कम्पनीले गत साउन ३२ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको थियो । यो आईपीओको निष्कासन बन्द छिटोमा आज भदौ १४ गते बैंकिङ समयपछि हुने भनिएको थियो । तर हिजो सार्वजनिक बिदा परेकोले आज भदौ १५ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । 


प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको यो कम्पनीले प्रतिसाधारण सेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावितका लागि ४ लाख कित्ता निष्कासन गरेको छ। आयोजना प्रभावितलाई वितरण गरिसकेपछि यो कम्पनीले दोस्रो चरणमा ८ लाख कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि निष्कासन गर्नेछ। सर्वसाधारणका लागि कहिलेदेखि सेयर निष्कासन गर्ने हो भन्ने विषय चाहिँ दोस्रो चरणमा जानकारी दिइनेछ।  इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। 


लगानीकर्ताले नुवाकोटस्थित ज्योति विकास बैंकका शाखाहरु बट्टार, त्रिशूली, रातमाटे, रानीपौवा, समुद्रटार, देउराली, समरी र गल्छी, प्रभु बैंकका शाखाहरु बट्टार र महादेवफाँट, सिभिल बैंकका शाखाहरु ककनी एक्सटेन्सन काउन्टर, कपन, गोंगबु, टोखा, स्वयम्भु, मुख्य शाखा सीटीसी मल, चाबहिल र सेन्चुरी बैंकको बेलकोटगढी शाखाबाट आवेदन दिन सक्नेछन्। यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।
 

प्रतिक्रिया