काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच विद्यालय शिक्षा विधेयक चालू प्रतिनिधिसभा अधिवेशनको असार १५ गतेभित्र पारित गर्ने सहमति जुटेको छ। सिंहदरबारमा भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले विधेयक पारित गराउने र आन्दोलन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विधेयकको दफाबार छलफल हाल संसदीय उपसमितिमा जारी रहेको र नेपाल शिक्षक महासंघसँग पहिल्यै भएका समझदारीलाई ध्यानमा राख्दै विधेयक पारित गर्न सबै पक्षले आ-आफ्नो तहबाट प्रयास गर्ने सहमति गरिएको हो।
सरकारको तर्फबाट शिक्षकहरूलाई आन्दोलन फिर्ता गरी नियमित शैक्षिक गतिविधिमा फर्कन अपिल गरिएको छ। सहमति अनुसार सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई विद्यालय फर्कन आग्रह गरिएको छ।
सहमति पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका छन्।