काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ। नेपाल विद्युत प्राधिकरणले साउन, भदौ, असोज, र कात्तिकमा १ अर्ब ६६ करोड ७८ लाख युनिट अतिरिक्त बिजुली भारतलाई बेचेको हो।
चार महिनामा विद्युत् निर्यातको औसत मूल्य प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा रहेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मार्फत तथा द्विपक्षीय सम्झौताका आधारमा हरियाणा र बिहार राज्यमा विद्युत् निर्यात गरिरहेको छ।
असोज र कात्तिकमा बाढीपहिरोका कारण माथिल्लो तामाकोशीसहित अन्य आयोजनाहरूमा क्षति हुँदा विद्युत् निर्यात प्रभावित भएको थियो। यसले चालू वर्षको ३० अर्ब रुपैयाँको निर्यात लक्ष्यलाई पनि चुनौती पुर्याएको छ।
हिउँदको समयमा नदी-खोलामा पानीको बहाव घट्ने भएकाले विद्युत् उत्पादन कम हुनेछ र आन्तरिक मागलाई मात्र धान्ने स्थिति आउने प्राधिकरणले जनाएको छ। केही महिनामा नेपालले भारतबाट विद्युत् आयात गर्नुपर्ने सम्भावना पनि छ।
साउनमा ४९ करोड ५६ लाख युनिट विद्युत् ८ रुपैयाँ ३६ पैसाको औसत दरमा, भदौमा ५५ करोड ९४ लाख युनिट ६ रुपैयाँ ५८ पैसामा, असोजमा ३७ करोड ९२ लाख युनिट ८ रुपैयाँ ०८ पैसामा, र कात्तिकमा २३ करोड ३५ लाख युनिट ७ रुपैयाँ ८४ पैसामा भारतलाई निर्यात गरिएको थियो।
प्राधिकरणले हालसम्म ९४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न स्वीकृति पाएको छ। गत आर्थिक वर्षमा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली आयात गर्दा १७ अर्ब ६ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो। यसले नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाएको थियो।