काठमाडौं – स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पछिल्लो १४ महिनामा ३० भन्दा बढी जलविद्युत् आयोजनाहरूको आईपीओ आवेदन प्रक्रिया रोकिएको बताएका छन्।
बुधवार, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै, अध्यक्ष कार्कीले जलविद्युतमा शेयरमार्फत नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए।
उनले भने, "विगत १४ महिनाभन्दा बढी ३० भन्दा बढी आयोजनाहरूको आईपीओ रोकिएको छ। हामीले जलविद्युत् आयोजनामा ३० प्रतिशत लगानी आईपीओमार्फत संकलन गर्ने योजना बनाएका थियौं। आईपीओबाट पनि रकम आउन सकेन, र इक्विटी हालेर पनि आयोजनाहरू अगाडि बढाउन सकिएको छैन।"
अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजारसम्म लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै, करिब ४५ लाख बढी नेपालीले जलविद्युत् शेयरमा लगानी गरेको जानकारी दिए। उनले स्थायी सरकार बनेसँगै केही सुधार हुने आशा व्यवसायीहरूमाझ पलाएको उल्लेख गरे।
तर, उनले जलविद्युत् क्षेत्रको विकास गर्न व्यवसायहरू उत्साहित भए पनि पछिल्लो समय धेरै समस्याहरू देखापरेको बताए। साथै, विद्युत विधेयक यथावत् पारित भएमा व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आउने चेतावनी दिए। विधेयकले जलविद्युत् विकासलाई समर्थन गरे पनि नेपालका निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने उनले उल्लेख गरे।