काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर आज आइतबारबाट नेप्सेमा कारोबार हुने भएको छ ।
बैंकको शेयर बिहीबार नेप्सेमा सूचीकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो ।
यो कम्पनीको आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । नेप्से र सूचीकृत कम्पनीबीच शेयर सूचीकरण भएको दोस्रो दिनदेखि नेप्सेमा शेयर कारोबारमा आउने गर्दछ ।
नेप्सेले बैंकको शेयर कारोबारका लागि एनआइएफआरए (NIFRA) कारोबार संकेत प्रदान गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबारमा आउनेछ । बैंकको शेयर यहि संकेतमा लगानीकर्ताको डिम्याट खातामा जम्मा भैसकेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको गत आर्थिक वर्ष २०७६।७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ११३.६२ रुपैयाँ छ । यस अनुसार बैंकको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँसम्म कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको पछिल्लो लेखापरिक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।
नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।