काठमाडौँ । विश्वनाथ पौडेल ले हाल बैंकिङ प्रणालीमा करिब ९ खर्ब रुपैयाँ बराबरको रकम निष्क्रिय अवस्थामा थन्किएको बताएका छन्। नेपाल राष्ट्र बैंक ले आर्थिक पत्रकारहरूका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त रकम प्रभावकारी रूपमा परिचालन गर्न सरकारको स्पष्ट नीति आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार अहिले बैंकहरूले ठूलो परिमाणमा रकम राष्ट्र बैंकमा नै पार्क गरिरहेका छन्, जसलाई राष्ट्र बैंकले निश्चित ब्याजदर दिएर व्यवस्थापन गरिरहेको छ। यस्तो अवस्थामा सरकारले कुन क्षेत्रमा लगानी प्रवाह गर्ने भन्ने स्पष्ट रणनीति बनाउनुपर्ने उनले जोड दिए।
गभर्नर पौडेलले अघिल्लो समय सरकारले जलविद्युत क्षेत्रमा कर छुटलगायतका प्रोत्साहन दिएपछि सो क्षेत्रमा उल्लेख्य प्रगति भएको स्मरण गराउँदै अब पनि त्यस्तै सम्भावनायुक्त क्षेत्र पहिचान गरी नीतिगत सहजीकरण गर्नुपर्ने बताए। उनले आगामी सरकारले यस विषयमा ठोस योजना ल्याउने विश्वास व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय परिस्थिति तर्फ संकेत गर्दै इरान–इजरायल द्वन्द्व लामो समयसम्म लम्बिएमा नेपाली अर्थतन्त्रमा अप्रत्यक्ष असर पर्न सक्ने चेतावनी दिए। उनका अनुसार यस्तो अवस्था लम्बिएमा वैदेशिक रोजगारी प्रभावित हुन सक्छ, विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्छ र आपूर्ति श्रृंखलामा अवरोध आउने सम्भावना रहन्छ।
कार्यक्रममा उनले कृषि क्षेत्रमा पर्याप्त कर्जा प्रवाह नभएको उल्लेख गर्दै बैंकहरूले वास्तविक सम्भावना भएका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। “बैंकिङ कर्जा गरिबी निवारणको महत्वपूर्ण माध्यम हुन सक्छ, तर अपेक्षाअनुसार उपयोग हुन सकेको छैन,” उनले भने।
उनले प्रविधिगत सुधारमार्फत कृषि लगायतका क्षेत्रमा कर्जा विस्तार गर्ने वातावरण बनाउनेतर्फ राष्ट्र बैंकले काम गरिरहेको पनि जानकारी दिए।