प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएकाले मतदानको व्यवस्थापन र नागरिकलाई सहज सहभागिताका लागि बिदा घोषणा गरिएको जनाइएको छ।

यसअघि निर्वाचन आयोगले पनि निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो। तीन दिनको बिदाले कर्मचारी, सुरक्षाकर्मी र मतदानमा खटिने जनशक्तिलाई तयारी तथा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास सरकारको छ।

फागुन १८ गते पहाडी जिल्लामा र १९ गते तराईका जिल्लामा फागु पूर्णिमाको बिदा परिसकेको छ। अब सरकारले २२ गतेसम्म बिदा दिने निर्णय गरेसँगै २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले लगातार बिदा हुने अवस्था बनेको छ। यसले सरकारी तथा निजी कार्यालय, शैक्षिक संस्था र वित्तीय क्षेत्रसमेत केही दिन प्रभावित हुनेछन्।

प्रतिक्रिया