काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५० अंकले घट्दै २६७६.६८ बिन्दुमा झरेको हो।
यस दिन ३४५ कम्पनीका तीन करोड १२ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा करिब १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा सहभागी सबै उपसमूहको सूचक राताम्मे बनेका छन्, जसले बजारमा समग्र रूपमा दबाब देखिएको संकेत गरेको छ।
यद्यपि, केही कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेस्ट इन, सुपरखुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रोका सेयर मूल्य उल्लेख्य रूपमा बढेका छन्।
तर बजारको गिरावटबीच सात कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ। मूल्य घट्ने कम्पनीहरूमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, प्योर इनर्जी र सान्भी इनर्जी रहेका छन्।