करार कर्मचारीको आन्दोलन स्थगित, सरकारसँग लिखित सम्झौता हुने

काठमाडौं । करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीले सरकारसँगको वार्तापछि बुधबारका लागि तय गरिएको आन्दोलन स्थगित गरेका छन्। प्रधानमन्त्रीको सचिवालयमा भएको छलफलमा बिहीबार लिखित सम्झौता गर्ने समझदारी बनेपछि उनीहरूले सिंहदरबार परिसरमा जारी प्रदर्शन रोकेका हुन्।

सरकारले करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले सेवाबाट नहटाउन माग गर्दै आएका छन्। साथै, दरबन्दी कटौतीका कारण सेवाबाट बाहिरिनुपर्ने अवस्था आए उचित उपदानको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

वार्तामा सहभागी कर्मचारीका अनुसार प्रधानमन्त्रीको सचिवालयले तत्काल कसैलाई पनि सेवाबाट हटाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ। आवश्यक परे कर्मचारी व्यवस्थापनका लागि उचित उपाय अपनाइने र सेवाबाट बिदा गर्नुपर्ने अवस्था आए खाली हात नफर्काइने आश्वासन पनि दिइएको उनीहरूले बताएका छन्।

यद्यपि आन्दोलनरत कर्मचारीले लिखित सम्झौता नभएसम्म पूर्ण रूपमा विश्वस्त हुन नसकिने बताएका छन्। उनीहरूका अनुसार अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलका केही विषय बुधबारको वार्तामा नउठेकाले बिहीबार हुने लिखित सहमतिपछि मात्रै आन्दोलनका आगामी कार्यक्रमबारे निर्णय गरिनेछ।

यसअघि मंगलबार पनि करार कर्मचारीहरूले अर्थ मन्त्रालयअगाडि प्रदर्शन गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

आन्दोलनरत कर्मचारीले साउन १ गतेदेखि करार कर्मचारीलाई महँगी भत्ता, बढेको तलब, प्रोत्साहन भत्ता तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने मागसमेत राखेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय