कालिन्चोक दर्शनको आइपीओ भर्नु भो ? विदेशमा रहेकाले मात्र आवेदन दिन पाउने

काठमाडौं - पहिलो पटक विदेशमा रहेका नेपालीहरुको लागि निष्कासन गरिएको आइपीओमा समेत अधिक आवेदन परेको छ । 

कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३ करोड १० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर १८ गते) सम्म ५७१ जनाले ३ लाख १० हजार ७५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.८७ गुणा बढी आवेदन हो । 

कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोडको २% ले हुने १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । तसर्थ, स्थानीयले १ लाख २० हजार कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् । 

यता, सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १०% अर्थात १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् । 

दुवै समूहका आवेदकहरुले मंसिर २८ गतेसम्म आइपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस १४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ । कालिन्चोक दर्शनको आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया