राजावादी आन्दोलन सरकारको कुशासनको परिणाम: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको कुशासनकै कारण राजावादीहरू सडकमा उत्रिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा सम्बोधन गर्दै उनले सरकारको अक्षमताका कारण देशका विभिन्न तप्का र समुदायहरू आन्दोलनको मोडमा पुगेको दाबी गरे।

प्रचण्डले फागुन २५ गते भएको राजावादी प्रदर्शनमा विदेशी शक्तिको संलग्नता रहेको आरोप लगाए। ‘राजावादीहरू यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ,’ उनले भने, ‘देशभित्रमात्रै होइन, विदेशी शक्तिहरूले समेत उनीहरूलाई उकास्न चलखेल गरिरहेका छन्।’

उनले विश्वका कयौँ देशहरूमा राजतन्त्र अन्त्य हुँदा हिंसात्मक घटना भए पनि नेपालमा भने सम्मानजनक रूपमा राजसंस्थालाई बिदाइ गरिएको स्मरण गराए। लोकतान्त्रिक व्यवस्थाले राजावादीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिए पनि अत्यधिक चलखेल नगर्न उनले चेतावनी दिए।

प्रतिक्रिया