एनआईसी एशिया स्वामित्वको आधा अर्बको सेयर बिक्रीमा

काठमाडौ–एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीका आधा अर्ब रुपैयाँको सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा भएका विभिन्न चार कम्पनीका सेयर बिक्री गरेर रकम जुटाउन लागेको हो । बैंकले चार कम्पनीका ६ लाख २३ हजार ८८० कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । जसमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख ०२ हजार ५६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १ लाख ०२ हजार ८६६ कित्ता, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको १ लाख २८ हजार २९० कित्ता र सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ८९ हजार ६६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । विगतमा तोकेको मूल्य भन्दा कम दरमा मूल्य तोकेर लिलामीमा राखेको छ ।

नागरिक लगानी कोषको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५३० रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ५०८ रुपैयाँ, एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ४३३, सूर्या लाईफ इन्स्योरेन्सको ३५० रुपैयाँ तोकेको छ । यी सेयर बिक्रीबाट ४८ करोड ४१ लाख रुपैयाँ आम्दानी गर्ने बैंकको योजना रहेको छ । बैंकले यसअघि बिक्रीमा ल्याएका शेयर बिक्री नभएपछि पुस २७ गतेदेखी पुन बिक्रीमा ल्याएको हो ।

प्रतिक्रिया