काठमाडौँ— ७६औँ प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्की ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले २००७ सालको जनक्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिकको हैसियतमा स्थापित गरेको उल्लेख गरेकी छन्। साथै २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै उनले फागुन ७ लाई निर्वाचन दिवसका रूपमा पनि व्याख्या गरेकी छन्।
उनले सन्देशमा लेखेकी छन्, “लोकतन्त्रलाई जीवनशैलीका रूपमा स्थापित गर्न नेतृत्व तहबाटै कमजोरी भयो, जसका कारण पटक–पटक आन्दोलनको आवश्यकता पर्यो। अब यस्तो अवस्थाको अन्त्य गर्नैपर्छ। भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत कार्यान्वयन गरौँ।”
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व सुदृढ गर्दै समृद्ध नेपाल निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्। साथै प्रजातन्त्र र सुशासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।