काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ६३ अर्बले बढी हो। यो वृद्धि १३ प्रतिशतको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु वर्ष सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब रहेको छ। तर, हालसम्म लक्ष्यको ४० प्रतिशत मात्र राजस्व संकलन भएको छ।
चालु वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८४ प्रतिशत मात्रै लक्ष्य पूरा भएको छ। पुस महिनामा मात्र १ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलनको सुधार सकारात्मक रहेको बताए। उनले लक्ष्यअनुसार राजस्व संकलन बढाउन सरकारले विशेष ध्यान दिने बताए।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनको आयातमा कमी, विद्युतीय सवारी साधनको आयातमा वृद्धि, दूरसञ्चार क्षेत्रमा देखिएको प्रभाव, र आयात तथा मागमा कमीको असरका बाबजुद ६ महिनामा उल्लेखनीय राजस्व संकलन भएको जानकारी दिए। मन्त्रालयले आगामी महिनामा राजस्व संकलन सुधार गर्न थप प्रयास गर्ने बताएको छ।