चन्द्रागिरीको आईपीओमा ८ लाख भन्दा धेरैको आवेदन,शेयर पर्ने सम्भावना न्यून बन्दै

काठमाडौ – चन्द्रागिरि हिल्सले पुस २४ गतेबाट सार्वजनिक गरेको आईपीओमा आज तेस्रो दिन सम्ममा माग भन्दा धेरैको आवेदन परेको छ ।

सो कम्पनीको शेयरमा १ करोड ७० लाख २७ हजार ७९० कित्ताको लागि आवेदन परेको छ । आइतबारसम्म ८ लाख ६३ हजार ४४६ जना आवेदकले १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।

आवेदकले पुस २८ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

हिल्सले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको छ । उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया