सहुलियतपूर्ण कर्जा बढ्यो, कृषि व्यवसाय कर्जा सवा खर्ब प्रवाह


काठमाडौं—बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा लिने व्यवसायीको संख्या बढेको छ । 
सरकारले सहुलियतपूर्ण कर्जाको कार्यविधि बनाई कृषि, महिला उद्यम, शैक्षिक कर्जा, वैदेशिक रोजगारीबाट फर्किएका युवा लगायतलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । त्यसरी प्रबाह भएको कर्जा हालसम्म १ खर्ब ८७ अर्ब १६ करोड पुगेको छ ।उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २७२ ऋणी लाभान्वित छन् । ती ऋणीले एक खर्ब २१ अर्ब ६ करोड कर्जा लिएका छन् ।


महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६९० महिला उद्यमी लाभान्वित भएका छन । सो शीर्षकमा ६२ अर्ब ३७ करोड कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ ।


केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड बराबरको छ । सो अवधिसम्म एक लाख २० हजार ७१५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् ।
सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।आव २०७७÷७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ । सो बैंकले समेत गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।


 

प्रतिक्रिया