४० करोड भन्दा धेरैको आईपीओ निष्कासनको तयारीमा न्यादी जलविद्युत्

काठमाडौं–पुँजी बजारमा जलविद्युत् कम्पनीको कारोबार बढिरहेको बेला अर्को एक हाइड्रो पावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणका लागि प्राथमिक सेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

जारी पूँजीको २५ प्रतिशत आईपीओ निष्कासन गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट अनुमतिको प्रतिक्षामा छ । आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा गत मंसिरमा नै आवेदन दिएको थियो ।

१० प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र २ प्रतिशतले हुने ३ लाख कित्ता सेययर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई निष्काशन गर्नेछ । त्यसमध्ये बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । त्यसमा बाँकि रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन हुनेछ । कम्पनीले सेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
३० मेगावाटको यो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २ सय २० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ । निर्माणाधीन प्रसारण लाइन विद्युत् उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत् टारीकुना सबस्टेसनमा जोड्ने योजना रहेको कम्पनीले जनाएको छ ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया