काठमाडौँ । भन्सार विभाग ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापारमा बेहोरिरहेको परनिर्भरता चालु आर्थिक वर्षमा अझ बढेको छ ।
तथ्यांकअनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ७९ पैसा बराबरको सामान आयात गर्नुपर्ने अवस्था देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ६ रुपैयाँ ७७ पैसा थियो । यस वर्ष आयात–निर्यात अनुपातमा ०.५० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।
साउनदेखि वैशाख मसान्तसम्म नेपालको कुल व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । आयात र निर्यात दुवै बढे पनि आयातको आकार धेरै ठूलो भएकाले व्यापार घाटा थप बढेको हो ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशत बढी हो ।
यता निर्याततर्फ भने नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड २ लाख रुपैयाँ बराबरको वस्तु मात्रै विदेश पठाउन सकेको छ । यद्यपि, निर्यातमा अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ ।