शारजाहमा नेपालको चमक, वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक विज

काठमाडौँ – नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा ऐतिहासिक जित हात पारेको छ । शारजाहमा शनिबार राति भएको खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेर नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले ३८ रनको योगदान दिए भने कुशल मल्लले ३० र गुलशनकुमार झाले २२ रन बनाए ।

जवाफमा १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज नौ विकेट गुमाएर १२९ रनमै समेटियो । वेस्ट इन्डिजका नवीन बिदाईसीले २२ रन बनाए भने फेबियन एलेन र अमिर जांगुले समान १९–१९ रनको योगदान दिए । नेपालका कुशल भुर्तेलले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, करन केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान एक–एक विकेट लिए ।

यस जितसँगै नेपालले शृङ्खलामा १–० को अग्रता बनाएको छ । नेपालले पहिलो पटक आईसीसी पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय टी–२० शृङ्खला खेलेको हो र यसअघि कहिल्यै पूर्ण सदस्य राष्ट्रलाई टी–२० मा पराजित गर्न सकेको थिएन ।

‘युनिटी कप’ नाम दिइएको यो शृङ्खला नेपालका लागि आउँदो टी–२० विश्वकप एशिया छनोटको तयारीको रुपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय