काठमाडौं : भारतीय सेयर बजारमा लगातार चौथो दिन पनि गिरावट आएको छ ।
डिसेम्बर महिनाको पहिलो दिन अलटाइम हाई रेकर्ड बनाएको भारतीय बजार पछिल्लो समय भने करेक्सनमा गएको हो ।
भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसइ सेन्सेक्स’ शुक्रबार एकै दिन ९८१ अंकले घटेर ५९,८४५ विन्दुमा आएको छ । यससँगै, पछिल्लो ४ दिनमै सेन्सेक्स करिब २ हजार अंकले घटेको छ । यस महिनाको हालसम्म ३२ सय ५० अंक अर्थात ५.१% ले सेन्सेक्समा गिरावट आएको छ ।
यता, अर्को सूचक निफ्टी ५० पनि शुक्रबार ३२० अंकले घटेर १८ हजार विन्दुभन्दा तल झरेको छ । अमेरिकी अर्थतन्त्र सुधारात्मक देखिएपनि थप ब्याजदर वृद्धि हुने संकेतपछि अलटाइम आई रेकर्डमा पुगेको भारतीय सेयरमा पनि असर परेको हो ।
यस्तै, जापानको उच्च मुद्रास्फीति दरका कारण पनि एसियाली बजारमा नकारात्मक असर परेको छ । पछिल्लो समय भने कोभिड संक्रमणको दर बढेपछि लगानीकर्ताहरुमा पनि त्रासको वातारवरण सिर्जना भएको छ । यी कारणहरुले भारतीय बजारमा नकारात्मक असर पुर्याएको विश्लेषण गरिएको छ ।