कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आज फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। दोलखा जिल्ला अन्तर्गत बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरका ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिँदैछ। यसका लागि श्रम स्वीकृति प्राप्त नेपालीहरूले आवेदन दिन पाउनेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते बन्द हुने व्यवस्था छ।
आईपीओको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २९ वर्ष ५ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष र डिस्काउन्टमा १५.३६ वर्ष रहेको उल्लेख गरिएको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै सम्बन्धित शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।