बैंकमा ५९ खर्ब ८९ अर्ब निक्षेप थुप्रियो


काठमाडौं–बाणिज्य बैंकमा निक्षेप थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन ५९ खर्ब ८९ अर्ब पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ५२ खर्ब ९८ अर्ब छ । कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब पुगेकोमा वाणिज्य बैंकमार्फत ४४ खर्ब १४ अर्बको कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात ८०.५ प्रतिशत कायम छ । 


लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । खासगरी मुद्दती निक्षेपको ब्याजदरमा बैंकहरूले कटौती गर्न सुरु गरेका छन् । बैंकहरूले पुसका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरले यस्तो देखाएको हो । नयाँ दरअनुसार प्राइम कमर्सियल बैंकबाहेक सबै बैंकको ब्याजदर एकल अंकमा कायम भएको छ ।


एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बजारमा कर्जाको माग नभएर बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएकाले ब्याजदर घट्दै गएको बताए । 
घट्दो ब्याजदरले अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको खालिङको टिप्पणी छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगतदर तथा बैंकदर घटाए पनि त्यसको असर बजारमा खासै नपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ऋण लिनै नपर्ने अवस्थामा नीतिगत दर सस्तो हुनुले ब्याजदरमा खासै प्रभाव नपार्ने उनको भनाइ छ । 


ब्याजदर निर्धारणमा राष्ट्र बैंकको नियन्त्रण कायमै रहेकाले सोचेजस्तो ब्याजदर घट्न नसकेको निजी क्षेत्रको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले केन्द्रीय बैंकको बैंकहरूलाई मात्रै संरक्षण गर्ने विभेदकारी नीतिले ब्याजदर अपेक्षित रूपमा घट्न नसकेको बताए । १० प्रतिशतभन्दा बढी घटाउन नमिल्ने व्यवस्थाले निक्षेपको ब्याजदर अपेक्षित रूपमा नघटेको उनको भनाइ छ । उनले भने, ‘हामीले हेर्दा बैंकहरूलाई बढी नै संरक्षण गर्दा यस्तो अवस्था आएको छ । केन्द्रीय बैंकको १० प्रतिशतभन्दा बढी घटाउन दिएको छैन । बढाउँदा यो व्यवस्था ल्याएको थियो । तर, अब सहज परिस्थितिमा किन कायम राख्नुप¥यो ?’ 


बैंकहरूले शनिबार प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुसमा ८.९९१ प्रतिशत कायम गरेका छन् ।  समग्रमा बैंकहरूको औसत ब्याजदर ०.६२ प्रतिशत विन्दुले घटेको छ । 


पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशत विन्दु घटेर ८.६०३ प्रतिशत कायम भएको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सन्राइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशत विन्दु ब्याजदर घटाएका छन् ।


प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर घटाएसँगै बैंकहरूको निक्षेपको ब्याजदरमा समेत प्रभाव परेको हो । राष्ट्र बैंकले अघिल्लो शुक्रबार (मंसिर २२ गते) चालू वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियो ।


साथै नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ । साथै, निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ । यो पहलले बैंकहरूले पुसमा कम्तीमा १ प्रतिशत विन्दुले निक्षेपको ब्याजदर घटाएका हुन् ।
 

प्रतिक्रिया