काठमाडौं, जेठ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी, महासागर र मानवता संरक्षणको सन्देश बोकेको 'सगरमाथा संवाद'लाई विश्वव्यापी संवादका रूपमा सञ्चालन गरिएको बताएका छन्।
आज काठमाडौंमा सुरु भएको पहिलो सगरमाथा संवाद उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सगरमाथाको नाममा आयोजना गरिएको यो कार्यक्रम ईमानदार संवाद र आपसी ज्ञान साटासाटका लागि पहल भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै नेपालले हरितगृह ग्यास उत्सर्जनमा सानो भूमिका खेले पनि वातावरण संरक्षणमा योगदान महत्वपूर्ण रहेको बताए। उनले भने, “हामी असर भने धेरै भोगिरहेका छौं। घरहरू पहिरोले बगाइरहेका छन्, अकस्मात् बाढी र खडेरीले समस्या सिर्जना गरिरहेका छन्। यस्तो परिस्थितिमा पनि हामी दृढताका साथ उभिएका छौं।”
उनले सगरमाथा संवादले उच्च नैतिकता, बौद्धिक साहस र साझा दृष्टिकोणबाट सुन्दर भविष्य निर्माणको दिशामा योगदान दिने विश्वास व्यक्त गरे।