इन्टरनेटको मूल्य बढाउने निर्णय

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने भएका छन् । बुधबार बसेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो । त्यसैका आधारमा आज (बिहिबार) साँझ अथवा शुक्रबार बिहानसम्म प्राधिकरणका समक्ष स्वीकृतिको लागि निवेदन दिने निर्णय भएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए । हाल सबै सेवा प्रदायकबाट पत्र संकलनको काम भइरहेको पराजुलीले जानकारी दिए ।


उनका अनुसार हालसम्म सुबिसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक, इस्टलिंक लगायत ठूला सेवा प्रदायकका पत्र संकलन भइसकेका छन् । आइस्पानमा पत्र बुझाउनका लागि सेवा प्रदायकलाई बिहीबार साँझ ४ बजेसम्मको समय दिइएको र त्यसपश्चात् संकलन भएको पत्र प्राधिकरणमा एकमुस्ट बुझाइने पराजुलीले बताए ।
‘हामी सबै सेवा प्रदायकले इन्टरनेटको मूल्य वृद्धि गर्न प्राधिकरणमा स्वीकृतिको लागि पत्र पठाउने तयारी गरेका छौँ,’ उनले भने, ‘लामो समय देखि पोल भाडा र फाइबरको मूल्य वृद्धि भएकाले यो कदम चाल्ने निर्णय गरेका हौं ।’


यसअघि नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरको भाडादर वृद्धि गरी एक वर्षमा प्रतिकिमी कर बाहेक ३२ हजार पु¥याएको थियो । जुन पहिलेको तुलनामा दोब्बर हो । विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय नै नगरी एकतर्फी रुपमा विद्युत पोलको भाडादर बढाउँदा सञ्चालन खर्च बढेको भन्दै सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष गुनासो गर्दै आएका थिए ।
 

प्रतिक्रिया