कोभिडले बन्द भएका सबै विद्यालय खुल्ने

काठमाडौं–कोभिड–१९को कारण करिब १० महिनादेखि बन्द रहेका शैक्षिक संस्थामा अब विद्यालयमा नै उपस्थित भएर नियमित पठन पाठन सुरु हुने भएको छ । कोरोना महामारी कारण बन्द भएका विद्यालयहरु खोल्ने सरकारले निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले विद्यालयहरु खुलाउने निर्णय गरेको हो । त्यस्तै चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर अहिलेलाई खुल्ला गर्ने निर्णय समेत गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेशको सम्भावना रहेकोले दोस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्नुका साथै लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया