काठमाडौं– कोभिडको कारण यो वर्ष लक्ष्य अुनसार राजस्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन हम्मे परेको छ । आर्थिक गतिविधि शुस्त हुँदा राजस्व संकलन अपेक्षा अनुसार हुन नसकेको हो । सरकारले संकलन गरेको राजस्व भन्दा खर्च १७ अर्ब १८ करोड ६३ लाख बढी खर्च भएको छ ।
महालेखा परीक्षक कार्यालयका अनुसार शुक्रबारसम्म तीन खर्ब ७७ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ भने तीन खर्ब ६० अर्ब ७९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्ष ०७७÷७८को पहिलो पाँच महिनामा पौने ३९ रुपैयाँ लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । साउनदेखि मंसिरसम्मको राजस्व संकलनमा लक्ष्य भेटाउन ३८ अर्ब ८३ करोड रुपैयाँ अपुग भएको छ ।
कर राजस्व मात्र लक्ष्यको २५ अर्ब रुपैयाँ कम संकलन भएको छ । १२ अर्ब ९८ करोड रुपैयाँ कम गैर कर संकलन भएको छ । कुल राजस्व ३८ अर्ब ८३ करोड रुपैयाँ कम संकलन भएपनि अर्थ मन्त्रालयले अन्य प्राप्तिको २५ अर्ब ५३ करोड रुपैयाँ जोडेको छ । यो लक्ष्यअनुसार राजस्वको कुनै शीर्षकमा पर्दैन ।