राष्ट्र बैंकद्वारा ८१ अर्बको पुर्नकर्जा स्वीकृत

काठमाडौं–नेपाल राष्ट्र बैंकले ८१ अर्ब रुपैयाँ पुर्नकर्जा स्वीकृत गरेको छ । ग्राहक मूल्यांकनअनुसार दिइने पुनर्कर्जा करिब ३१ अर्ब सात करोड रुपैयाँ र एकमुष्ठ कर्जाका लागि ५० अर्बबराबर रुपैयाँको कर्जा स्वीकृत भएको हो ।

स्वीकृत भएको ८१ अर्बको पुनकर्जा मध्ये अधिकांस १५ लाख भन्दा साना कर्जामा गएको राष्ट्र बैंकले जनाएको छ । ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएको हो । ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताए ।

बैंकहरूमार्फत आउने प्रति आवेदन पाँच करोडदेखि २० करोड रुपैयाँसम्मको ग्राहक मूल्यांकन कर्जा आवेदन सोझै राष्ट्र बैंकमा पेस हुने व्यवस्था छ । यस्तो कर्जामा धेरैजसो माग जलविद्युत् र पर्यटन क्षेत्रबाट परेको छ । कोषको २० प्रतिशत रकम ग्राहक मूल्यांकनअनुसारको पुनर्कर्जाका रूपमा लगानी हुनेछ ।

पाँच करोडभन्दा कमका लागि ग्राहकबाट हुने पुनर्कर्जा मागलाई एकमुष्ठ पुनर्कर्जा भनिएको छ । बैंकहरूले यस्तो माग एकमुष्ठ रूपमा राष्ट्र बैंकमा पेस गर्छन् । एकमुष्ठ कर्जाका लागि भने ५० अर्बबराबर रुपैयाँको कर्जा स्वीकृत भएको हो । पुनर्कर्जा कोषमा भएको रकममध्ये ७० प्रतिशत रकम यसरी एकमुष्ठ आउने आवेदनका लागि छुट्याइएको हो । बैंकहरूले राष्ट्र बैंकबाट तीन प्रतिशत ब्याजदरमा साधारण, एक प्रतिशत ब्याजदरमा विशेष पुनर्कर्जा र दुई प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा पाउँछन् । बैंकहरूले भने ग्राहकहरूलाई यी कर्जामा क्रमश ः पाँच, तीन र पाँच प्रतिशतसम्म ब्याज लिन सक्छन् ।

प्रतिक्रिया