स्वामी कैलाशानंदको चन्द्रागिरि दर्शन, धार्मिक पर्यटनमा टेवा

काठमाडौं – भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा आराधना गरेका छन्। नेपालका विभिन्न धार्मिक स्थलको भ्रमणका क्रममा स्वामी कैलाशानंद चन्द्रागिरि पुगेका हुन्।

मन्दिर दर्शनपछि उनले चन्द्रागिरिको वातावरण निकै अलौकिक रहेको अनुभव सुनाएका थिए। उनले हरियालीले ढाकिएका डाँडाकाँडा, शान्त र शीतल मौसम, र केबलकारबाट देखिने काठमाडौँ उपत्यकाको दृश्य अत्यन्तै मनमोहक भएको बताए। साथै, चन्द्रागिरि हिल्स पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा व्यक्त गरेका छन्।

स्वामी कैलाशानंदको टोलीले केबलकारमार्फत भालेश्वर महादेव मन्दिर पुगेको थियो। उनले चन्द्रागिरिको धार्मिक, सांस्कृतिक र प्राकृतिक पक्षले जुनसुकै यात्रुलाई मोहित बनाउने उल्लेख गरे। चन्द्रागिरिको यात्रा आफ्नो लागि एक अविस्मरणीय अनुभव भएको स्वामीको भनाइ छ।

नेपाल भ्रमणको क्रममा उनले लुम्बिनी केबलकार यात्रा गरी वसन्तपुरको कामाख्या देवी मन्दिर, रसुवाको गोसाइँकुण्ड, र काठमाडौंको दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका छन्।

धार्मिक स्थलहरूको दर्शन तथा अध्यात्मिक यात्राले नेपालका तीर्थस्थलको महत्त्व अझै बढ्ने विश्वास गरिएको छ। स्वामी कैलाशानंदको भ्रमणले नेपालका धार्मिक पर्यटन गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया