वाणिज्य बैंकहरूको अर्धवार्षिक समीक्षा: यस्तो छ वित्तिय अवस्था

काठमाडौं । नेपालका सबै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांकले बैंकिङ क्षेत्रको वास्तविक अवस्था स्पष्ट पारेको छ, जहाँ कतिपय बैंकले उल्लेखनीय नाफा आर्जन गरेका छन् भने केही बैंक घाटा र कमजोर सूचकका कारण दबाबमा देखिएका छन्। घट्दो ब्याजदर, कर्जा असुलीको चुनौती र गैर–सञ्चालित कर्जाको बढ्दो जोखिमबीच बैंकहरूको वित्तीय अवस्था फरक–फरक देखिएको छ।

दोस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको आम्दानीको मुख्य आधार ब्याज आम्दानी नै रहेको छ। यस अवधिमा बैंकहरूले करिब २ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेका छन्। ब्याज आम्दानीमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ, जसले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेको छ। त्यसपछि नबिल बैंक करिब १९ अर्ब रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ। सबैभन्दा कम ब्याज आम्दानी स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ भने माछापुच्छ्रे, नेपाल एसबीआई र सिटिजन्स बैंक पनि पछिल्लो समूहमा परेका छन्।

नाफाको आधारमा हेर्दा नबिल बैंक सबैभन्दा अघि देखिएको छ। बैंकले दोस्रो त्रैमासिकसम्म करिब ४ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक र कुमारी बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यस अवधिमा लक्ष्मी सनराइज बैंक भने घाटामा गएको एकमात्र वाणिज्य बैंक बनेको छ, जसले करिब २७ करोड रुपैयाँ घाटा व्यहोरेको छ। एनआईसी एशिया र सिटिजन्स बैंकको नाफा पनि न्यून रहेको छ।

प्रति सेयर आम्दानी (ईपीएस) को हिसाबले पनि नबिल बैंक अग्रस्थानमा छ। बैंकको ईपीएस ३५ रुपैयाँभन्दा माथि पुगेको छ। एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि उच्च ईपीएस हुने बैंकको सूचीमा परेका छन्। विपरीत रूपमा सिटिजन्स र एनआईसी एशिया बैंकको ईपीएस निकै कमजोर देखिएको छ भने लक्ष्मी सनराइज बैंकको ईपीएस ऋणात्मक अवस्थामा रहेको छ, जसले सेयरधनीका लागि चिन्ताजनक संकेत गरेको छ।

पूँजीको प्रतिफल अर्थात् आरओईमा पनि नबिल बैंक नै सबैभन्दा प्रभावकारी देखिएको छ। कुमारी, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि दोहोरो अंकको आरओई कायम गरेका छन्। लक्ष्मी सनराइज बैंकको आरओई भने ऋणात्मक देखिएको छ भने एनआईसी एशिया र सिटिजन्स बैंकले अपेक्षित प्रतिफल दिन सकेका छैनन्।

कर्जाको गुणस्तर हेर्दा एभरेस्ट बैंकको अवस्था सबैभन्दा सबल देखिएको छ, जहाँ गैर–सञ्चालित कर्जा १ प्रतिशतभन्दा कम छ। स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंक पनि सुरक्षित कर्जा व्यवस्थापनमा देखिएका छन्। हिमालयन बैंकमा भने सबैभन्दा बढी एनपिएल देखिएको छ, जसले बैंकको जोखिम बढेको संकेत गर्छ। पूँजीको बलियोपन हेर्दा राष्ट्रिय वाणिज्य बैंकको प्रति सेयर नेटवर्थ सबैभन्दा उच्च देखिएको छ भने प्रभु, सिटिजन्स र कुमारी बैंकको नेटवर्थ कमजोर समूहमा परेको छ।

प्रतिक्रिया