काठमाडौं — ग्वार्को ओभरपास निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि कार्य सम्पन्न हुने टुंगो छैन। निर्माणका क्रममा बारम्बार ढिलाइ हुँदा कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी सडक खण्डमा दैनिक जामको समस्या यथावत् छ।
निर्माण व्यवसायीले वैशाखभित्र काम सक्ने दाबी गरेका छन् भने सडक विभागले बर्खाअघि सम्पूर्ण कार्य सम्पन्न हुने बताएको छ। अहिले भने पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको । भत्तकाएर बनाएको सातदोवाटो तर्फको रेनफोर्स्ड अर्थ पनि निर्माण सम्पन्न भएको छ भने काटेश्वर तर्फको भागमा पिचको लागि तयारि गरिएको छ ।
ओभरपासमा पर्ने पुल निर्माण कार्य भने पूरा भइसकेको छ। अब आरई वालको काम सकिएपछि बेस, सबबेस र कालोपत्र गर्ने तयारी छ। साथै, आरई वाल र पुल जोड्ने ‘एप्रोच स्ल्याब’ राख्ने काम पनि बाँकी रहेको छ।
२०७८ फागुनमा दुई वर्षभित्र सक्ने गरी सुरु गरिएको ओभरपास निर्माण पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। सुरुमा २०८० फागुन १२ भित्र सक्नुपर्ने लक्ष्य थियो, तर त्यसपछि २०८१ असारसम्म म्याद थपियो। पुनः तोकिएको समय गुज्रिएपछि पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना लगाएर काम अघि बढाइएको छ।
५४० मिटर लामो ओभरपासको निर्माण प्रगति हालसम्म ९० प्रतिशत मात्र पुगेको छ। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन मोडलमा निर्माण भइरहेको यस संरचनामा प्रारम्भिक डिजाइनमै समस्या देखिएपछि काम रोकिएको थियो। निर्माणका क्रममा आएका विभिन्न प्राविधिक समस्याहरूका कारण बारम्बार ढिलाइ भएको अधिकारीहरूले बताएका छन्।
यहि गतिमा काम हुँदै गयो भने यो बर्खा अघिनै यातायात सञ्चालन गर्न सकिने अधिकारीहरु बताउछन । अहिले निर्माण कम्पनीले तिब्र गतिमा काम गरिरहेको देख्न सकिन्छ ।