काठमाडौं । नेपाल राष्ट्र बैंक को पछिल्लो प्रतिवेदनले लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारमा सुधारका संकेत देखिएको जनाएको छ । पछिल्ला वर्षहरूमा घट्दै गएको गतिविधि अब क्रमशः चलायमान बन्दै गएको देखिएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ को चौथो त्रैमासमा घरजग्गा किनबेच हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सो अवधिमा कुल ४ लाख ५६ हजार लिखत पारित तथा नामसारीसम्बन्धी कारोबार भएका छन्, जसले बजारमा रहेको सुस्तता हट्दै गएको संकेत गरेको छ । त्यस्तै, सोही अवधिमा राजीनामा र लिखत पास गरी १ लाख १४ हजार ७६९ कारोबार भएका छन्, जुन पछिल्ला तीन वर्षकै उच्च हो ।
कारोबार रकमको आधारमा पनि घरजग्गा बजारमा उल्लेख्य वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासमा ५८ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा वर्षको अन्त्यसम्म ९५ अर्ब ५० करोड पुगेको थियो । त्यसपछि ०८०/८१ मा यो रकम बढेर १ खर्ब ६ अर्ब ४० करोड पुगेको थियो । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा ७५ अर्ब २० करोडमा सीमित रहेको कारोबार चौथो त्रैमाससम्म आइपुग्दा १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
तथ्यांकले घरजग्गा कारोबारमा मौसमी प्रभाव पनि देखाएको छ । वर्षको सुरुआती त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा बढ्ने प्रवृत्ति कायम रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला १२ त्रैमासदेखि राजीनामामार्फत हुने कारोबार लगातार बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रादेशिक रूपमा हेर्दा कारोबार संख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोसी प्रदेश छन् । कर्णाली र सुदूरपश्चिममा कारोबार न्यून देखिएको छ । क्षेत्रफलका आधारमा पनि मधेसकै हिस्सा सबैभन्दा ठूलो छ, जहाँ २० आनाभन्दा माथिका ठूला प्लटको कारोबार बढी हुने गरेको छ । तर, थैली रकमका आधारमा भने वाग्मती प्रदेश अगाडि रहेको छ, जहाँ चौथो त्रैमासमा मात्रै ५१ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्रिय स्तरमा २.५ देखि १० आनासम्मका प्लटमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जसले कुल कारोबारको करिब ४३ प्रतिशत हिस्सा ओगटेको छ । महानगरहरूमा पाँचदेखि १० आनासम्मका प्लट बढी किनबेच हुने गरेको छ । भरतपुर महानगरपालिकामा सबैभन्दा बढी कारोबार देखिएको छ भने काठमाडौं र ललितपुरमा जग्गाको उच्च मूल्यका कारण कारोबार संख्या तुलनात्मक रूपमा कम रहेको छ ।
सरकारी राजस्वमा पनि सुधार देखिएको छ । अघिल्लो वर्षहरूमा घटेको राजस्व पछिल्लो समय पुनः बढ्दै १० देखि १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको राष्ट्र बैंकले जनाएको छ । साथै, घरजग्गा क्षेत्रमा बैंक कर्जा प्रवाह पनि उल्लेख्य रूपमा बढेको छ । ०७७/७८ देखि ०८१/८२ सम्म रियल–स्टेट कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ ।
रियल–स्टेट क्षेत्रको प्रवृत्ति विश्लेषणका लागि केन्द्रीय बैंकले त्रैमासिक तथ्यांक प्रकाशन सुरु गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागसँगको सहकार्यमा संकलित तथ्यांकका आधारमा यस्तो विश्लेषण गरिएको हो । यसबाट आगामी दिनमा घरजग्गा मूल्य सूचकांक निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।